काठमाडौं । अष्ट्रेलियाको सिड्नीमा एक जना नेपाली महिलाको शंकास्पद मृत्यु भएको छ । नेपाली नागरिक ३९ वर्षीया दीक्षा दाहालको पारामाट्टा अपार्टमेन्ट ब्लकको सातौं तलाबाट खसेर मृत्यु भएको हो ।
दाहालको मृत्यु हुनुभन्दा दुई घन्टा अगाडि अपार्टमेन्टबाट अष्ट्रेलियाको इमर्जेनसी सर्भिस नम्बर ००० मा फोन आएको थियो । त्यसबेला पृष्ठभूमिमा ‘ठूलो आवाजसहित भनाभन भएको सुनिएको जनाइएको थियो ।
जतिबेला पारामाट्टा प्रहरीले दाहालका पति ४० वर्षीय रविन्द्र सुवेदीसँग सम्पर्क गरे, त्यतिञ्जेलमा प्रहरीलाई घटनाबारे सूचना समेत आइसकेको थियो ।
प्रहरीले यो घटनामा प्रारम्भिक अनुसन्धानका लागि सुवेदीलाई पक्राउ गरेको थियो । उनीसँग सोधपुछ र प्रारम्भिक जाँच गरेपछि तत्काल थप प्रमाण केही नदेखिएको भन्दै छाडेको थियो ।
दाहाल अष्ट्रेलियामा नर्सका रुपमा काम गर्दै आएकी थिइन् । उनीहरुले केही वर्षअघि मात्र विवाह गरेका थिए । तर, उनीहरुबीच आन्तरिक झगडा यसअघि प्रहरीसम्म समेत पुगिसकेको जनाइएको छ ।
पछिल्लो समय उनीहरु सँगै बस्न छाडेका थिए । प्रहरीले सीसी टीभी लगायतका प्राविधिक पक्षको जाँच गरेर अनुसन्धान गरिरहेको छ ।