काठमाडौं । धानमन्त्री पुष्पकमल दाहालले दुग्ध विकास संस्थानले दूध खरिद गरेबापत किसानलाई दिनुपर्ने भुक्तानी तुरुन्त दिन निर्देशन दिएका छन् ।उनले सोमबार अर्थमन्त्री डा.प्रकाशशरण महत, कृषि तथा पशुपक्षी विकास मन्त्री डा.बेदुराम भुसाल र मुख्यसचिव डा.बैकुण्ठ अर्याललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बोलाएर किसानको दूधको भुक्तानी तुरुन्तै दिन निर्देशन दिएका हुन् ।
सो क्रममा प्रधानमन्त्रीले निजी क्षेत्रबाट किसानले पाउनुपर्ने भुक्तानी तुरुन्त दिन र भुक्तानी नदिए कारबाहीको प्रक्रिया अगाडि बढाउन निर्देशन दिएको प्रधानमन्त्री दाहालको सचिवालयले जनाएको छ ।
प्रधानमन्त्रीले भने, “किसानले महिनौंसम्म दूधको भुक्तानी नपाउनुको कारण के हो, यसलाई गम्भीरतापूर्वक लिनुस् । निजी क्षेत्रबाट किसानलाई भुक्तानी दिनुपर्ने रकमका लागि तत्काल सहजीकरण गर्नुस् ।” किसानहरुले दुधको भुक्तानी नपाएको भन्दै लामो समयदेखि गुनासो गर्दै आएका छन् । यस्तै, दुध होलिडेको समस्या समेत बढ्दै गएको किसानहरुको भनाई छ ।