काठमाडौं । क्यारेबियन देश हाइटीको प्रमुख सरकारी अस्पताल पुनः खोल्ने घोषणा गर्न आयोजित पत्रकार सम्मेलनमा गोली चल्दा २ पत्रकारसहित ३ जनाको मृत्यु भएको छ।
पत्रकार सम्मेलन स्थानीय समय अनुसार बिहान ८ बजे हुने भनिएको थियो । तर ११ बजेसम्म पनि स्वास्थ्यमन्त्री नआएकाले पत्रकारहरु उनको प्रतिक्षामा थिए । त्यही वेला एक्कासी एक व्यक्तिले गोली चलाएका थिए ।
यो आक्रमण स्टेट युनिभर्सिटी अफ हाइटी अस्पतालमा भएको हो । यो अस्पताललाई स्थानीय रुपमा जनरल हस्पिटल भनेर चिनिन्छ । यो हाइटीको सबैभन्दा ठूलो सार्वजनिक अस्पताल हो । हिंस्रक गिरोहको दबदबा बढेपछि गत मार्च महिनादेखि यो अस्पताल बन्द छ । त्यति वेला प्रधानमन्त्री एरियल हेनरी सत्ताच्युत हुनुपरेको थियो ।
हाइटी द्वन्द्वको चपेटामा छ । एक महिना अगाडि पनि राजधानी पोर्ट ओ प्रिन्समा हिंसा भड्किँदा अन्तर्राष्ट्रिय विमानस्थल बन्द गर्नुपरेको थियो ।
त्यसको केही समयपछि नै एलिक्स डिडिएर फिल्स एमेले नयाँ प्रधानमन्त्रीको रुपमा शपथ ग्रहण गरेका थिए ।