भद्रपुर । मेची भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो महिना साउनमा १ अर्ब २९ करोड ५ लाख ३९ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ । गत आर्थिक बर्ष २०८०/८१ को सोही अवधिको तुलनामा यो १५ दशमलव ९३ प्रतिशतले बढी हो ।
मेची भन्सार कार्यालय काँकरभिट्टाका सूचना अधिकारी गणपति कँडेलका अनुसार गत आर्थिक बर्षको साउनमा १ अर्ब ११ करोड ३२ लाख ३१ हजार राजस्व सङ्कलन भएको थियो । “मेची भन्सारबाट आयात १४.५४ प्रतिशतले बढ्दा निर्यात भने ३३.९८ प्रतिशतले घटेको छ”, उनले भने, “चालु आवको साउनमा ३ अर्ब ८९ करोड १० लाख ५८ हजार रुपैयाँ बराबरको मालबस्तु आयात हुँदा एक अर्ब ८० करोड ८२ लाख ९९ हजारको निर्यात भएको छ ।”
मेची भन्सार कार्यालयको तथ्याङ्क अनुसार चिया, प्लाइड, भेनियर सिट, मोलासिसको निर्यात क्रमश। ३८ दशमलव ०८, ४३ दशमलव ४९, पाँच सय तीन दशमलव ९७ र सत प्रतिशतले बढ्दा अलैँची ८३ दशमलव २८, अदुवा आठ दशमलव ८६, अम्रिसो २१ दशमलव ८८, छुर्पी ७८ दशमलव ७८ प्रतिशतले घटेको छ ।
त्यसैगरी आयाततर्फ पेट्रोल चार दशमलव ५८, डिजेल ११ दशमलव ८८, फलफूल ३८ दशमलव ४७ प्रतिशतले कमी आउँदा जुट १३ दशमलव ४६, एलपि ग्याँस २७ दशमलव ३७, जिप्सम ६७ दशमलव ९५, मेसिनरी तथा पाटपुर्जा ९६ दशमलव ५८, दलहन ६८ दशमलव ४९ र तरकारी एक सय ७७ दशमलव ६३ प्रतिशतले आयात वृद्धि भएको भन्सार कार्यालयले जनाएको छ ।