एक वर्षमा भित्रियो ८ अर्ब ४० करोड रूपैयाँ विदेशी लगानी

एक वर्षमा भित्रियो ८ अर्ब ४० करोड रूपैयाँ विदेशी लगानी

सोमवार, भाद्र ३ २०८१
सोमवार, भाद्र ३ २०८१
  • एक वर्षमा भित्रियो ८ अर्ब ४० करोड रूपैयाँ विदेशी लगानी

    काठमाडौं । आर्थिक वर्ष ०८०/८१ मा खुद ८ अर्ब ४० करोड रूपैयाँ प्रत्यक्ष विदेशी लगानी (एफडीआई)भित्रिएको छ । नेपाल राष्ट्र बैंक वार्षिक प्रतिवेदनअनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा गत वर्ष ३६.१ प्रतिशतले बढी एफडीआई भित्रिएको हो  ।

    कुल ८ अर्ब ४७ करोड ४७ लाख रूपैयाँ विदेशी लगानी भित्रिए पनि ७ करोड ३९ लाख रूपैयाँ बराबर पुरानो लगानी बाहिरिएकाले खुद विदेशी लगानी ८ अर्ब ४० करोड रूपैयाँ देखिएको राष्ट्र बैंकको तथ्यांक छ ।

    गत वर्ष ७० अर्ब २ करोड रूपैयाँ लगानी प्रतिबद्धता आएकोमा ८ अर्ब ४० करोड रूपैयाँ मात्रै लगानी भित्रिएको हो । गत वर्ष तेस्रो लगानी सम्मेलन गरिएकाले पनि लगानी प्रतिबद्धता बढेको उद्योग विभागका अधिकारीहरु बताउँछन् ।

    सम्मेलनकै अवसरमा मुलुकमा अटोमेटिक रुटबाट पनि विदेशी लगानी प्रतिबद्धता स्वीकृत गर्ने व्यवस्था लागू गरेको थियो । गत वर्ष अटोमेटिक रुटबाट १३९ वटा उद्याेगमा ८ अर्ब ११ करोड रूपैयाँ लगानी प्रतिबद्धता आएको थियो । यस्तै अप्रुभल रूटबाट ४०७ उद्योगमा ६१ खर्ब ९० करोड ४५ लाख रूपैयाँ लगानी प्रतिसबद्धता आएको थियो ।

    अघिल्लो आर्थिक वर्ष नेपालमा खुद ५ अर्ब ९६ करोड १३ लाख रुपैयाँ मात्र एफडीआई भित्रिएको छ। कुल ७ अर्ब ७६ करोड ८६ लाख रुपैयाँ विदेशी लगानी भित्रिए पनि १ अर्ब ८० करोड ७३ लाख रुपैयाँ बराबर पुरानो लगानी बाहिरिएकाले खुद विदेशी लगानी ५ अर्ब ९६ करोड १३ लाख रुपैयाँ देखिएको छ । उक्त वर्ष ३८ अर्ब ४० करोड रूपैयाँ लगानी प्रतिबद्धता आएको थियो ।

    आर्थिक वर्ष ०७८/७९ मा २९५ वटा उद्योगमा ५४ अर्ब १५ करोड रुपैयाँ विदेशी लगानी प्रतिबद्धता आएकोमा खुद प्रत्यक्ष विदेशी लगानी १८ अर्ब ५६ करोड ३ लाख रुपैयाँ भित्रिएको थियो। कुल १९ अर्ब २१ करोड ९० लाख भित्रिए पनि ६५ करोड ८७ लाख रुपैयाँ बराबर पुरानो लगानी बाहिरिएको थियो। त्यसैले खुद प्रत्यक्ष विदेशी लगानी १८ अर्ब ५६ करोड ३ लाख रुपैयाँ भित्रिएको हो ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij