गाउँ पालिका अध्यक्षसहित छ जना पक्राउ

गाउँ पालिका अध्यक्षसहित छ जना पक्राउ

शुक्रवार, जेठ २९ २०८३
शुक्रवार, जेठ २९ २०८३
  • गाउँ पालिका अध्यक्षसहित छ जना पक्राउ

    काठमाडौं । डोल्पाको एक गाउँ पालिका अध्यक्षसहित छ जनालाई प्रहरीले पक्राउ गरेको छ । काईके गाउँपालिकाका अध्यक्षसहित ६ जना जुवा खेल्दै गरेको अवस्थामा पक्राउ परेको प्रहरीले जनाएको छ। 

    डोल्पाको सदरमुकाम दुनै बजारमा जुवा (पासारकौडा) खेलिरहेको अवस्थामा उनीहरूलाई प्रहरीले पक्राउ गरेको जनाइएको छ । जिल्ला प्रहरी कार्यालय डोल्पाकाका अनुसार,  बिहीबार दिउँसो ३ बजे  दुनैस्थित पञ्च बुढाको घरको माथिल्लो तलाको कोठाबाट उनीहरूलाई पक्राउ गरिएको थियो । 

    पैसाको हारजित हुने गरी जुवा खेलिरहेको भन्ने गोप्य सूचनाको आधारमा प्रहरी टोलीले छापा मारेर उनीहरूलाई नियन्त्रणमा लिइएको बताइएको   छ । पक्राउ पर्ने अन्यमा ठुलीभेरी नगरपालिका-३ का ५१ वर्षीय पञ्च बुढा, त्रिपुरासुन्दरी नगरपालिका-७ का ३३ वर्षीय सागर श्रेष्ठ र ठुलीभेरी नगरपालिका-५ का ३८ वर्षीय ओमबहादुर रोकाया, रहेका छन् । 

    त्यसैगरी   काइके गाउँपालिका-५ घर भई हाल ठुलीभेरी नगरपालिका-३ बस्ने ५० वर्षीय हिराबहादुर रोकाया,  ठुलीभेरी नगरपालिका-४ का ५३ वर्षीय इन्द्रबहादुर रोकाया र काइके गाउँपालिका-२ का ४० वर्षीय अंगतकुमार रानामगर पनि पक्राउ परेका छन्। रानामगर काईके गाउँपालिकाका अध्यक्ष समेत हुन्। 

    उनी २०७९ मा भएको स्थानीय तहको निर्वाचनमा तत्कालीन एकीकृत समाजवादी पार्टीबाट सर्वसम्मत पालिका अध्यक्षमा निर्वाचित भएका थिए। हाल उनी नेपाली कम्युनिस्ट पार्टीमा आबद्ध छन्।  

    प्रहरीले घटनास्थलबाट नगद ४९ हजार ८ सय, पारा २ थान, कौडा ४६ थान तथा ७ थान मोबाइल बरामद गरेको छ। प्रहरीले  अनुसन्धान कार्य अगाडि बढाएको र घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij