भक्तपुर । जिल्ला समन्वय समिति भक्तपुरका प्रमुख तथा नेकपा एमाले भक्तपुरका नेता ईश्वर थापाको सोमवार दिउँसो निधन भएको छ । शिक्षण अस्पताल महाराजगञ्जमा उपचाररत रहेका थापाको ६५ वर्षको उमेरमा निधन भएको हो ।
सूर्यविनायक नगरपालिका वडा नं. ७ का वडा अध्यक्ष तथा नगर प्रवक्ता रविन्द्र सापकोटाका अनुसार थापा विगत दुई सातादेखि मुटु तथा उच्च रक्तचाप सम्बन्धी समस्याका कारण उपचाररत थापा शिक्षण अस्पताल महाराजगञ्जमा थिए । उपचारकै क्रममा सोमवार दिउँसो करिब २ः३० बजे उनको निधन भएको बताइएको छ ।
नेकपा एमालेसँग आबद्ध नेता तथा कार्यकर्ताले उनको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरेका छन् । सोमवार साँझ पशुपति आर्यघाटमा अन्तिम श्रद्धाञ्जली गरिएको छ । स्वर्गीय थापा भक्तपुरको स्थानीय राजनीति र जनप्रतिनिधित्व क्षेत्रमा सक्रिय भूमिका निर्वाह गर्दै आएका थिए ।
उनी जिल्ला समन्वय समिति भक्तपुरका प्रमुखका रूपमा कार्यरत रहँदै जिल्लाको विकास तथा समन्वयकारी भूमिकामा सक्रिय थिए । उनका एक छोरा, चार छोरी र श्रीमती रहेका छन् । थापाको निधनप्रति विभिन्न राजनीतिक दल, जनप्रतिनिधि तथा स्थानीय व्यक्तित्वहरूले शोक व्यक्त गरेका छन् ।