वीरगञ्ज नाका हुँदै निर्यात दोब्बरले बृद्धि

वीरगञ्ज नाका हुँदै निर्यात दोब्बरले बृद्धि

बिहिवार, फाल्गुण १५ २०८१
बिहिवार, फाल्गुण १५ २०८१
  • वीरगञ्ज नाका हुँदै निर्यात दोब्बरले बृद्धि

    वीरगञ्ज । वीरगञ्ज भन्सार नाका हुँदै चालु आर्थिक वर्षको सात महिनामा ४० अर्ब ३४ करोड ५९ लाख ७९ हजार मूल्य बराबरका वस्तु तथा सामान निर्यात भएका छन् । गत आवको सात महिनाको तुलनामा चालु आवको सोही अवधिमा सो नाकाबाट हुने निर्यात दोब्बरभन्दा बढीले बढेको हो ।

    गत आवको सात महिनाको अवधिमा यो नाका हुँदै १७ अर्ब सात करोड ९५ लाख ६० हजार मूल्य बराबरको वस्तु तथा सामान विदेशी मुलुक निर्यात भएको थियो । मुलुकभरका साना र ठूला २८ भन्सार नाकामध्ये वीरगञ्ज भन्सार नाकाबाट हुंने निर्यातको हिस्सा ३१ दशमलव ७२ प्रतिशत रहेको छ ।

    वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी अमित तिवारीले चालु आवमा प्रशोधित सूर्यमुखी र भटमासको तेल निर्यात बढेसँगै समग्रमा निर्यात बढेको बताए । गत आवको तुलनामा चालु आवमा निर्यातमा उत्साहजनक ढङ्गले वृद्धि हुँदै आइरहेको उनको भनाई छ ।

    वीरगञ्ज भन्सार नाका हुँदै चालु आवको सात महिनाको अवधिमा १९ अर्ब ३६ करोड मूल्यको प्रशोधित भटमासको तेल निर्यात भएको छ । त्यस्तै सोही अवधिमा चार अर्ब ६३ करोड मूल्य पर्ने प्रशोधित सूर्यमुखीको तेल निर्यात भएको छ । 

    तीन अर्ब ९६ करोड मूल्य पर्ने फलफूलको जुस विदेशी मुलुकमा निर्यात भएको छ । त्यस्तै तीन अर्ब १२ करोड मूल्य पर्ने फलाम तथा फलामका सामग्री निर्यात भएको वीरगञ्ज भन्सार कार्यालयले जनाएको छ । 

    एक अर्ब ६० करोड मूल्य पर्ने सिन्थेटिक यार्न र एक अर्ब ४७ करोड मूल्य बराबरको विभिन्न प्रकारका कपडा विदेशी मुलुकमा निर्यात भएको छ । सोही अवधिमा एक अर्ब २२ करोड मूल्य पर्ने पशु आहारको कच्चा पदार्थ पिना चोकर भुस निर्यात भएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij