काठमाडौं । सरकारले दाल तथा गेडागुडी आयात गर्दा भन्सार बिन्दुमा तिर्नुपर्ने अग्रिम आयकरको दर घटाएको छ ।
तत्कालीन अर्थमन्त्री वर्षमान पुनले केराउ, चना, सिमी, मास, राजमा, मुसुरो, बकुल्ला, रहर लगायत दाल तथा गेडागुडी आयातमा १० प्रतिशत अग्रिम आयकर तिर्नुपर्ने व्यवस्था चालु आर्थिक वर्ष २०८१/८२ को बजेटमा गरेका थिए । मन्त्रिपरिषद् निर्णयमार्फत त्यसलाई घटाएर सरकारले त्यसलाई साढे २ प्रतिशतमा झारेको हो ।
दाल तथा गेडागुडी आयातमा विगतदेखि नै १० प्रतिशत भन्सार दरबन्दी लाग्दै आएको छ । त्यसमा १० प्रतिशत अग्रिम आयकर थपिँदा उपभोक्ताको भान्सामा प्रयोग हुने दालको मूल्य बढेको थियो ।
सरकारले घटाएको अग्रिम आयकर आइतबारबाट कार्यान्वयनमा गइसकेको जनाइएको छ ।