काठमाडौं । यस साता मात्रै सुनको भाउ प्रतितोलामा ५ हजार ४ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासँघले जनाएको छ। गत साताको अन्तिम दिन शुक्रबार प्रतितोला १ लाख ६० हजार १ सय रुपैयाँ रहेको छापावाला सुनको भाउ गत शुक्रबारसम्ममा १ लाख ६५ हजार ५ सय रुपैयाँमा पुगेको हो।
यस साता ६ दिन नै सुनको भाउ बढेको छ। अन्तराष्ट्रिय बजारमा समेत प्रतिआउन्स २६०० डलरभन्दा तल झरेको सुनको भाउ अहिले प्रतिआउन्स २७०० डलर नजिक पुगिसकेको छ। यसले गर्दा नेपाली बजारमा पनि सुनको भाउ निरन्तर बढेको हो।
यस साता चाँदीको भाउ समेत तोलामा ३० रुपैयाँले बढेको छ। अघिल्लो साता प्रतितोला १ हजार ९ सय १० रुपैयाँ रहेको चाँदीको भाउ बढेर प्रतितोला १ हजार ९ सय ४० रुपैयाँ पुगेको महासँघले जनाएको छ।
सुनको मूल्य बढ्नुका कारण सुनमा लगानी बढ्नु, अन्तर्राष्ट्रिय बजारमा नै मूल्य बृद्धि हुनु, बैंकहरुको व्याजदरले पनि भूमिका खेलेको र अन्तर्राष्ट्रिय द्वन्द्व बढेकाले हो भनि विश्लेषकहरुको भनाई रहेको छ । रसिया र युक्रेनको युद्ध फेरि चर्किएसँगै सुनको भाउ थप बढ्न थालेको हो।