खाद्यवस्तुको मूल्यवृद्धि उच्च : राष्ट्र बैंक

खाद्यवस्तुको मूल्यवृद्धि उच्च : राष्ट्र बैंक

मंगलवार, मंसिर ४ २०८१
मंगलवार, मंसिर ४ २०८१
  • खाद्यवस्तुको मूल्यवृद्धि उच्च : राष्ट्र बैंक

    काठमाडौं  नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो तीन महिनाको तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार गैरखाद्य वस्तुको तुलनामा खाद्य वस्तुको मूल्यवृद्धि भएको छ । मुख्यगरी तरकारी र गेडागुडीको मूल्यमा उच्च वृद्धि देखिएको हो ।

    “२०८१ असोजमा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति चार दशमलव ८२ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा मुद्रास्फीति सात दशमलव ५० प्रतिशत रहेको थियो”, प्रतिवेदनमा भनिएको छ, “समीक्षा महिनामा खाद्य तथा पेयपदार्थ समूहको मुद्रास्फीति ७ दशमलव १८ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ३ दशमलव ४९ प्रतिशत रहेको छ ।”

    खाद्य तथा पेयपदार्थ समूहअन्तर्गत तरकारी उप–समूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क २५ दशमलव १५ प्रतिशतले वृद्धि भएको छ । जुन सबैभन्दा उच्च मूल्यवृद्धि हो । त्यस्तै, दाल तथा गेडागुडीको १० प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको नौ दशमलव ५७ प्रतिशत र घ्यू तथा तेलको चार दशमलव ९८ प्रतिशतले वृद्धि भएको छ ।

    यो अवधिमा केही वस्तुको मूल्य भने घटेको छ । माछा तथा मासु उप–समूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क एक दशमलव १८ प्रतिशत, मरमसलाको ०.७९ प्रतिशत र चिनी तथा चिनीजन्य पदार्थको ०.७८ प्रतिशतले घटेको छ ।

    गैर–खाद्य तथा सेवा समूहअन्तर्गत विविध वस्तु तथा सेवा उप–समूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क १०.४९, मदिराजन्य पेय पदार्थको ६.३२, कपडाजन्य तथा जुत्ता चप्पलको ६.१२ प्रतिशत र घरायसी उपकरणको ४.८८ प्रतिशतले बढेको छ ।

    गत असोजमा ग्रामीण क्षेत्रको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क पाँच प्रतिशतले वृद्धि भएको छ भने सहरी क्षेत्रको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क ४ दशमलव ७६ प्रतिशतले वृद्धि भएको छ ।

    प्रदेशगत रुपमा कोशी प्रदेशको वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ६.२६, मधेश प्रदेशको ५.०८, बागमती प्रदेशको ४.२४ र गण्डकी प्रदेशको ३.९८ प्रतिशत रहेको छ । त्यस्तै, लुम्बिनी प्रदेशको ४.४२, कर्णालीको ३.२५ प्रतिशत र सुदूरपश्चिम प्रदेशको ६.५६ प्रतिशत रहेको छ ।

    काठमाडौँ उपत्यकाको वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ४.५०, तराईको ५.२३, पहाडको ४.३२ प्रतिशत र हिमालको ५.०८ प्रतिशत रहेको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij