११ प्रतिशतले बढ्यो रेमिट्यान्स, शोधनान्तर स्थिति १ खर्ब ८४ अर्ब ९९ करोड बचतमा

११ प्रतिशतले बढ्यो रेमिट्यान्स, शोधनान्तर स्थिति १ खर्ब ८४ अर्ब ९९ करोड बचतमा

मंगलवार, मंसिर ४ २०८१
मंगलवार, मंसिर ४ २०८१
  • ११ प्रतिशतले बढ्यो रेमिट्यान्स, शोधनान्तर स्थिति १ खर्ब ८४ अर्ब ९९ करोड बचतमा

    काठमाडौं । चालु आर्थिक बर्षको असोजसम्ममा ४ खर्ब ७ अर्ब ३१ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको विवरण अनुसार गत वर्षको सोही अवधिको तुलनामा यो रेमिट्यान्स ११.५ प्रतिशतले बढी हो । 

    अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २५.८ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह ३ अर्ब ४ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह २ अर्ब ७६ करोड रहेको थियो । 

    समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या १ लाख १० हजार ६ सय ५४ र पुनः श्रम स्वीकृति लिनेको संख्या ५९ हजार ९ सय ३९ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः १ लाख १३ हजार ३ सय ९७ र ४९ हजार २ सय ९७ रहेको थियो ।

    समीक्षा अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) ४ खर्ब ४२ अर्ब ४४ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ४ खर्ब ४ अर्ब ७ करोड रुपैयाँ रहेको थियो । 

    विदेशी मुद्राको सञ्चिति १७.६ महिनाको वस्तु आयात धान्न पुग्ने

    देशमा विदेशी मुद्राको सञ्चिति करिब साढे ९ प्रतिशतले बढेको छ।  २०८१ असार मसान्तमा  २० खर्ब ४१ अर्ब १० करोड रुपैयाँ बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति ९.४ प्रतिशतले वृद्धि भई २०८१ असोज मसान्तमा २२ खर्ब ३२ अर्ब २८ करोड रुपैयाँ पुगेको छ। अमेरिकी डलरमा यस्तो सञ्चिति २०८१ असार मसान्तमा १५ अर्ब २७ करोड रहेकोमा २०८१ असोज मसान्तमा ८.७ प्रतिशतले वृद्धि भई १६ अर्ब ६० करोड पुगेको छ।

    कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०८१ असार मसान्तमा १८ खर्ब ४८ अर्ब ५५ करोड रुपैयाँ  रहेकोमा २०८१ असोज मसान्तमा ७.५ प्रतिशतले वृद्धि भई १९ खर्ब ८८ अर्ब रुपैयाँ पुगेको छ। बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेकं) सँग रहेको विदेशी विनिमय सञ्चिति २०८१ असार मसान्तमा १ खर्ब ९२ अर्ब ५५ करोड रुपैयाँ रहेकोमा २०८१ असोज मसान्तमा २६.९ प्रतिशतले वद्धि भई २ खर्ब ४४ अर्ब २७ करोड रुपैयाँ कायम भएको छ। २०८१ असोज मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २१.९ प्रतिशत रहेको छ।

    आर्थिक वर्ष २०८१।८२ को ३ महिनाको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १७.६ महिनाको वस्तु आयात र १४.६ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ। २०८१ असोज मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरु क्रमशः ३९.१ प्रतिशत, १२१.९ प्रतिशत र ३०.९ प्रतिशत रहेका छन्। २०८१ असार मसान्तमा उक्त अनुपातहरु क्रमशः ३५.८ प्रतिशत, १०८.६ प्रतिशत र २९.३ प्रतिशत रहेका थिए।

    शोधनान्तर स्थिति १ खर्ब ८४ अर्ब ९९ करोड बचतमा

    मुलुकको चालु खाता र शोधनान्तर स्थिति बचतमा रहेको छ। समीक्षा अवधिमा शोधनान्तर स्थिति १ खर्ब ८४ अर्ब ९९ करोड बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति १ खर्ब १ अर्ब ६६ करोडले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ७६ करोड ६८ लाखले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा १ अर्ब ३८ करोडले बचतमा रहेको छ ।

    समीक्षा अवधिमा चालु खाता १ खर्ब ११ अर्ब ८७ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता ५९ अर्ब ६५ करोड रुपैयाँले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ४४ करोड ९४ लाखले बचतमा रहेको चालु खाता समीक्षा अवधिमा ८३ करोड ४० लाखले बचतमा रहेको छ । 

    समीक्षा अवधिमा खुद पुँजीगत ट्रान्सफर २ अर्ब रुपैयाँ कायम भएको छ भने प्रत्यक्ष वैदेशिक लगानी आप्रवाह (ईक्विटि मात्र) ४ अर्ब ८१ करोड रुपैयाँ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा खुद पुँजीगत ट्रान्सफर १ अर्ब १५ करोड रुपैयाँ कायम भएको थियो भने प्रत्यक्ष वैदेशिक लगानी आप्रवाह (ईक्विटि मात्र) ३ अर्ब ३८ करोड रुपैयाँ रहेको थियो ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij