काठमाडौं । सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । बुधबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ७० हजार ७ सय रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो भाउ हालसम्मकै उच्च हो ।
मंगलबार प्रतितोला १ लाख ६८ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य २ हजार २ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ७० हजार ७ सय रुपैयाँमा कायम भएको छ । यसअघि सुनको उच्च मूल्य १ लाख ६८ हजार ५ सय रुपैयाँमा कायम भएको थियो ।
आज चाँदीको भाउ तोलामा १५ रुपैयाँले बढेको छ । आज चाँदीको मूल्य प्रतितोला २ हजार १ सय २० रुपैयाँमा कायम भएको छ । अघिल्लो कारोबार दिन चाँदी २ हजार १०५ रुपैयाँमा कारोबार भएको थियो ।