वीरगञ्ज । नेपालमा अवको डेढ महिनमा पेट्रोल पनि पाइपलाइनबाट आयात हुने भएको छ । यस अघि डिजलमात्र आयात हुंदै आएको नेपाल–भारत अन्तरदेशीय पेट्रोलियम पाइपलाइनबाट अब पेट्रोल पनि आउँने भएको हो ।
मोतीहारी–अमलेखगञ्ज परियोजनाअन्तर्गत नेपाल आयल निगमले गत असोज १७ गते पाँच हजार पाँच सय किलोलिटर पेट्रोल पाइपलाइनबाट ल्याएर प्राविधिक परीक्षण गरेको थियो । अमलेखगञ्जस्थित निगम प्रादेशिक कार्यालयका प्रमुख प्रलयङ्कर आचार्यका अनुसार, पाइप लाइन परियोजनाअन्तर्गत दोस्रो चरणको पूर्वाधार निर्माण पूरा भएसँगै परीक्षणको काम पारम्भ भएको हो ।
दोस्रो चरणअन्तर्गतका ठूला पूर्वाधार निर्माणका सबै काम पूरा भएको आचार्यको भनाई छ । परियोजना अन्तर्गत ४१ सय किलोलिटर क्षमताका दुईवटा पेट्रोलका ट्याङ्कीलगायत पूर्वाधार निर्माण सम्पन्न भइसकेका छन् । दोस्रो चरणको अन्तर्गत निर्माण गरेका उपकरण तथा पूर्वाधारको प्राविधिक जाँचको कामलाई तीव्रता दिइरहेको निगमले जनाएको छ ।
दोस्रो चरणअन्तर्गत जडान भएका पेट्रोलका ट्याङ्की, मोटर, पम्प, पाइपलाइन, स्वचालित पेट्रोल भर्ने स्टेशनलगायत प्राविधिक पक्षको पनि परीक्षण भइरहेको आचार्यले बताए । पेट्रोल पाइप लाइनबाट ल्याएसँगै ढुवानी खर्चको लागत प्रतिलिटर तीन रुपैयाका दरले घट्दा वार्षिक एक अर्ब जोगिने छ । हाल पेट्रोल र मट्टितेल भारतको बरौनीबाट ट्याङ्करमा ढुवानी हुंदै आएको छ ।
निगमका अनुसार दोश्रो चरणमा पम्पहाउस, अत्याधुनिक प्रयोगशाला, ‘फायरफाइटिङ सिस्टम’को स्तरोन्नति, ‘आयल वाटर स्प्रे’, ‘पिएमससिसी रुम’लगायत पूर्वाधार निर्माण भएका छन् । निगमले दोस्रो परियोजना कार्यान्वयनका लागि एक अर्ब ५४ करोड भारु खर्चिएर चार हजार एक सय किलोलिटर क्षमताको पेट्रोलको ट्याङ्क, अत्याधुनिक प्रयोगशाला, फायरफाइटिङ सिस्टमको स्तरोन्नति र २४ वटा पूर्णरूपमा स्वचालित पेट्रोल भर्ने स्टेसन निर्माण गरेको हो ।
इन्डियन आयल कर्पोरेसन लिमिटेडले पनि ६० करोड भारु खर्चिएर चार हजार एक सय किलोलिटर क्षमताको ट्याङ्क, दुई सय ५० किलोलिटर क्षमताको दुईवटा ट्रान्समिक्स ट्याङक, तीन हजार किलोलिटर क्षमताको दुईवटा फायरवाटर ट्याङ्क निर्माणको जिम्मेवारी लिएको थियो । सन् २०१५ मा पाइप लाइन विस्तारका लागि पहिलो र दोस्रो चरणमा गरेर दुई अर्ब ७५ करोड भारु लाग्ने अनुमान गरिएको थियो । सो योजनाअनुसार पहिलो चरणमा भारतीय पक्षले दुई अर्ब भारु र दोस्रो चरणमा नेपालको तर्फबाट ७५ करोड भारु खर्च गर्ने योजनो थियो ।
पहिलो चरणको पूर्वाधार निर्माणमा योजनामा भारतको तर्फबाट दुई अर्ब भारु खर्च भए पनि दोस्रो चरणको काम तत्कालै सुरु हुन नसक्दा दोस्रो चरणको लागत बढेर भारु एक अर्ब ५४ करोड पुगेको हो । पहिलो चरणको काम सम्पन्न भई विसं २०७६ भदौ २५ गतेदेखि पाइप लाइनबाट डिजेल आयात भइरहेको छ ।